काठमाडौं ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।
शुक्रबार काठमाडौं महानगरपालिका क्षेत्रअन्तर्गत तीनकुने-कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइएको भन्दै महानगरले जरिवानाको पत्र काटेको हो।
महानगरका अनुसार, उक्त प्रदर्शन ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको थियो, जसका कारण सार्वजनिक संरचनामा तोडफोड हुनुका साथै फोहोर समेत गरिएको थियो। प्रदर्शनकारीहरूले महानगरको दमकलमा तोडफोड गर्नुका साथै आइल्यान्ड र रेलिङहरूमा समेत क्षति पुर्याएका थिए।
समग्र क्षतिको मूल्यांकन सरकारको छानबिन समितिले गर्ने भए पनि महानगरले आफ्नो क्षेत्राधिकारभित्रको आवश्यक प्रक्रिया अघि बढाएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।
यसअघि शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोलीले क्षतिको अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन्।
यसअघि फागुन २५ गते ज्ञानेन्द्र शाहको स्वागतका क्रममा सिनामंगल-गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराएको थियो।