ललितपुर ।
घोडेजात्राको अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोलटोलमा घुमाइ एकआपसमा मिलन गराएर जात्रा मनाइएको छ।
परम्पराअनुसार, मङ्गलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई एकआपसमा मिलन गराई पुनः आफ्ना मन्दिरमा राख्ने प्रथा छ।
ललितपुर महानगरपालिका वडा नम्बर ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर यो जात्रा सम्पन्न गरिएको हो। स्थानीयका अनुसार, रोगव्याधी, भयबाट मुक्त हुन तथा भौतिक बाधा अड्चन हटाउन लिच्छविकालदेखि नै यो जात्रा मनाइँदै आएको छ।
किंवदन्तीअनुसार, दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीनपटक परिक्रमा गरेपछि मात्र दुवै देवीलाई आफ्ना मन्दिरमा पुनः राख्ने चलन छ। चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनका अनुसार, यो जात्रा स्थानीय सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो।
यस अवसरमा स्थानीयहरूले खानाका परिकार खाएर नाचगान गर्दै, नायखी बाजाको तालमा देवीको परिक्रमा गराएर एकआपसमा खुसी साटासाट गर्दै जात्रा मनाएका थिए।