ढोरपाटन ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यो वर्षको दोस्रो सिकार याम सुरु भएको छ। यस याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिइएको छ।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार अनुमति प्रदान गर्न बोलपत्र आह्वान गरेको थियो। यस पटक हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले सिकार अनुमति पाएका छन्।
ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार सिकारीहरू चैत २६ देखि ढोरपाटन आइरहेका छन्। फागुनदेखि वैशाखसम्म सञ्चालन हुने दोस्रो सिकार याम वैशाख १६ गतेसम्म जारी रहनेछ। हालसम्म दुईवटा नाउरको सिकार भइसकेको छ।
यस सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन, फ्रान्सका सिकारीहरू सहभागी छन्। विभिन्न कम्पनीमार्फत आएका सिकारीहरूले नाउर, झारल र बँदेल सिकार गर्ने अनुमति पाएका छन्। एक झारलको सिकार अनुमति शुल्क आठ लाख रुपैयाँ र नाउराको छ लाख २५ हजार पाँच सय रुपैयाँ तोकिएको छ।