गलकोट ।
बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा अवस्थित कुवेरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढाइएको छ। पौराणिक महत्व बोकेको भए पनि ओझेलमा परेको कुवेरधामलाई जगत्गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाको अगुवाइमा संरचनात्मक विकास, प्रचार–प्रसार तथा अन्य कार्यहरू अघि बढाइएको छ।
हिमालयन बाबाका अनुसार, कुवेरले साधना गरेको मालिका मन्दिर क्षेत्रलाई धनकुवेरको नामकरण गरी धनको संरक्षणस्थलका रूपमा मानिन्छ। त्यहाँ ५४ फिट अग्लो कुवेरको मूर्तिसहित विभिन्न धार्मिक संरचनाहरू निर्माण गर्ने योजना छ। यसका लागि बागलुङ नगरपालिकाको सहयोगमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ।
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले रु १० लाख अनुदानमा मन्दिरलगायत संरचनाको निर्माण सुरु गरिएको छ भने कुवेरको मूर्ति, सिसमहल, जनकल्याण भवनलगायत संरचनाका लागि कुल नौ करोड ६४ लाखको डिपिआर तयार पारिएको छ। बागलुङ नगरपालिकाले रु तीन लाख खर्चेर पूर्वाधार निर्माणको डिपिआर तयार पारेर हस्तान्तरण गरिसकेको छ।
पछिल्लो तीन वर्षयता कुवेरधाममा धार्मिक संरचना निर्माण तीव्र भएको छ। सडक स्तरोन्नति, कुटी निर्माण, आश्रयस्थल, शौचालय, पदमार्गलगायत पूर्वाधार निर्माण भइरहेका छन्। पाँच रोपनी क्षेत्रफलमा विस्तार गर्न लागिएको कुवेरधामको जीर्णोद्धार कार्यलाई स्थानीय सरकार र दाताहरूको सहयोगमा अघि बढाइएको उपप्रमुख राजु खड्काले जानकारी दिए।