महोत्तरी ।
मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वमय बनेको छ। आइतबार चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र सुरु भएको छ, जससँगै चैतीछठको तयारी पनि सुरु भएको छ। यस वर्ष वासन्ती नवरात्रकै अवधिमा इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड इदसमेत परेकाले मिथिला क्षेत्रको वातावरण झन् उल्लासमय बनेको छ।
हिन्दू परम्पराका मैथिल समुदाय वासन्ती नवरात्रको तयारीमा व्यस्त छन्। चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा–आराधना गरिन्छ। देवी दुर्गाका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाआराधना वासन्ती नवरात्रमा गरिन्छ।
मिथिलाका प्रमुख देवी शक्तिपीठहरू, जस्तै महोत्तरीको बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको सोनामाई मन्दिर, जलेश्वरस्थित राजदेवी माई मन्दिरमा विशेष पूजाआराधना आयोजना गरिएको छ। जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि नवरात्र अवधिभर सर्वसाधारणका लागि खुला गरिने परम्परा रहेको छ।
वासन्ती नवरात्रकै अवसरमा मैथिल हिन्दू परम्पराको महत्वपूर्ण पर्व छठ, जसलाई बोलीचालीमा चैतीछठ भनिन्छ, मनाउने तयारी भइरहेको छ। छठ पर्व वर्षमा दुईपटक—शारदीय (कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म) र वासन्ती (चैत शुक्ल चौथीदेखि सप्तमीसम्म) मनाइन्छ।
यसपटक वासन्ती नवरात्रकै समयमा इस्लाम धर्मावलम्बीहरूको इद परेकाले मिथिला क्षेत्र हिन्दू र मुस्लिम दुवै समुदायका लागि उल्लासमय बनेको छ।