तनहुँ ।
तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवनको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। पशुपन्छीपालक किसानलाई गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले बनाइँदै गरेको यो अस्पताल भवन एक वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि अझै अधुरो अवस्थामा छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. रामनरेश यादवका अनुसार, निर्माण सम्झौताअनुसार गत पुसभित्रै सम्पन्न हुने योजना थियो। तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण भदौसम्म म्याद थप गरिएको भए पनि अपेक्षित गति देखिएको छैन।
गण्डकी प्रदेश सरकारको रु ४ करोड ९० लाख ८३ हजारको लागतमा निर्माण हुन लागेको साढे दुईतले भवनको ढलान कार्य सम्पन्न भइसकेको छ। बाँकी भौतिक संरचनाको काम धमाधम भइरहेको भए पनि बजेट अभावका कारण ढिलाइ भएको निर्माण कम्पनीका साइट इञ्चार्ज विमल खरेलले जानकारी दिए। असार मसान्तसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको छ।
एकैसाथ निर्माण थालिएको कास्कीको पोखरामा भने नमूना भेटेरिनरी अस्पतालबाट सेवा प्रवाह भइसकेको छ। तर, तनहुँको दमौलीस्थित अस्पताल निर्माणमा भएको ढिलाइका कारण किसानहरू अझै गुणस्तरीय भेटेरिनरी सेवाबाट वञ्चित रहनुपरेको छ।