काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा गुजरात टाइटन्सले पहिलो जित निकालेको छ। शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हरायो।
गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ६ विकेट गुमाएर १६० रनमै रोकियो। मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए भने तिलक वर्माले ३९ रनको योगदान दिए। ओपनर रोहित शर्मा ८ तथा रायन रिकेल्टन ६ रनमै आउट भएपछि मुम्बई दबाबमा परेको थियो।
गुजरातका बलर प्रसिद्ध कृष्णाले ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिए। मोहम्मद सिराजले पनि २ विकेट लिँदा साइ किशोर र कगिसो रबाडाले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६३ रन बनाए भने जस बटलरले ३९, कप्तान शुभमन गिलले ३८ तथा शेरफान रदरफोर्डले १८ रनको योगदान दिए।
मुम्बईका बलर हार्दिक पाण्ड्याले २ विकेट लिँदा मुजीब उर रहमान, दीपक चहर, ट्रेन्ट बोल्ट र सत्यनारायण राजुले १-१ विकेट लिए।
यो जितसँगै २ खेलबाट २ अंक जोड्दै गुजरात अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लगातार दुई खेलमा पराजित मुम्बई अंकविहीन रहँदै नवौं स्थानमा छ।