काठमाडौँ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले विभेदको अन्त्य गर्दै मानवताको संरक्षण गर्नुपर्ने बताउनु भएको छ। इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बीलाई शुभकामना दिँदै उहाँले भाइचारा, मेलमिलाप र सामूहिकताको महत्वलाई उजागर गर्नुभएको छ।
उपराष्ट्रपतिले ‘ईद–उल–फित्र’ पर्वले एकताको सन्देश दिँदै असहाय, गरिब र सहयोग आवश्यक परेकालाई मद्दत गर्न प्रेरित गर्ने बताउनुभयो। साथै, इस्लाम धर्मावलम्बीहरूले यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको उल्लेख गर्दै ‘इफ्तार’ तथा नमाज जस्ता अनुष्ठानले आध्यात्मिकता बलियो बनाउन मद्दत गर्ने बताउनुभयो।
उहाँले धर्मले समता, स्वतन्त्रता, न्याय र बन्धुत्वलाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै ‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता तथा सांस्कृतिक ऐक्यबद्धताको भावना सबल बनाउने विश्वास व्यक्त गर्नुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र स्वाधीनता मजबुत बनाउन यो पर्व प्रेरणादायी बन्ने उपराष्ट्रपतिको धारणा रहेको छ।