काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कडा प्रशासनिक कारबाही हुने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाका सबै गतिविधि निन्दनीय र खेदजनक भएको बताएका छन्। उनले यस्तो प्रकारका घटनालाई कुनै पनि हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे।
‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ।’
प्रधानमन्त्री ओलीले समाजवादी मोर्चाले सोही दिन गरेको कार्य शान्तिपूर्ण रहेको भन्दै त्यसमा संलग्न दलहरूलाई धन्यवादसमेत दिए। उनले शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्दै सबै राजनीतिक दललाई संयम अपनाउन आग्रह गरे।
सरकारले तीनकुने घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।