प्रधानमन्त्री ओलीले संसद्लाई थाइल्यान्ड भ्रमणबारे जानकारी गराए
प्रधानमन्त्री ओलीले संसद्लाई थाइल्यान्ड भ्रमणबारे जानकारी गराए
    • बेल संचार

    • १८ चैत्र २०८१, सोमबार

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमणमा जान लागेको बताए। यही चैत १९ गतेदेखि नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण थाइल्यान्डमा हुँदैछ।

प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको उल्लेख गर्दै यो भ्रमण महत्त्वपूर्ण हुने बताए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन्। साथै, पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुने कार्यतालिका तय भएको छ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। साथै, सम्मेलनपछि बाँकी सदस्य राष्ट्रका नेताहरूसँग साइडलाइन वार्ता गर्ने तालिका रहेको छ।

साताकाे चर्चित
सम्बन्धित