काठमाडौँ ।
नेपालले म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण पीडित देशलाई राहत सहयोग दिने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले म्यानमार सरकारलाई सहयोग पुर्याउने तयारी गरिरहेको छ।
शुक्रबार, ७.७ म्याग्निच्युडको भूकम्पले म्यानमारमा ठूलो क्षति पुर्याएको थियो। म्यानमारको सरकारलाई कस्तो राहत र कति सहयोग प्रदान गर्न सकिन्छ भन्ने विषयमा परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहत सहयोगका बारेमा परराष्ट्र मन्त्रालयमा आज विभिन्न मन्त्रालय र सरोकारवाला पक्षसँग छलफल गर्ने बताइएको छ।
यस अघि, भारत, चीन, थाइल्याण्ड लगायतका विभिन्न देश र संघ संस्थाले म्यानमारलाई सहयोग गरिसकेका छन्। भूकम्पको प्रभाव थाइल्याण्डमा पनि परेको छ। म्यानमारमा गएको भूकम्पले १७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने साढे तीन हजारभन्दा बढी घाइते भएका छन्।
अझै पनि म्यानमारमा उद्धार र राहत कार्य जारी रहेको छ।