धनकुटा ।
नेकपा एमाले धनकुटाले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा तथा यसबाट प्राप्त उपलब्धिको संरक्षणका लागि आज धनकुटा बजारमा बृहत् मोटरसाइकल र्याली आयोजना गरेको छ।
बसपार्कबाट सुरु भएको र्यालीले धनकुटा बजार परिक्रमा गरेको थियो। र्याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोक पुगेर सभामा परिणत भएको थियो।
र्यालीमा सहभागीहरूले ‘गणतन्त्र जिन्दावाद’, ‘प्रतिगमन मुर्दावाद’, ‘हत्या हिंसा लुटपाट अन्त्य गर’, ‘जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन’लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।
जिल्लाका सातवटै पालिकाबाट भेला भएका एक हजारभन्दा बढी मोटरसाइकलसहित र्याली निकालिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिएका छन्।