काठमाडौं ।
संघीय संसद्ले एकै दिनमा पाँच वटा विधेयक पारित गरी ऐनका रूपमा रुपान्तरित गरेको छ।
राष्ट्रिय सभामा सोमबार पाँच विधेयकमाथि दफावार छलफल गरी क्रमशः पारित गरिएको थियो। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए।
त्यस्तै, बाँकी तीन विधेयक अर्थमन्त्री विष्णु पौडेलले पेश गरेका थिए। ती विधेयकहरू क्रमशः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक हुन्।
राष्ट्रिय सभाबाट पारित पाँच वटै विधेयकको सन्देश सोमबार नै प्रतिनिधि सभामा टेबुल गरिएको थियो। प्रतिनिधि सभाले पनि ती विधेयक पारित गर्ने प्रक्रिया पूरा गरेपछि सभामुखले राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए।
राष्ट्रपतिले सोमबार नै प्रमाणीकरण गरेसँगै ती विधेयकहरू ऐनका रूपमा रुपान्तरित भएका छन्।