स्याउखेतीलाई नमूना क्षेत्र बनाउने लक्ष्य
स्याउखेतीलाई नमूना क्षेत्र बनाउने लक्ष्य
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

भोजपुर ।

रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन्। वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा लागेका हुन्।

साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन्। वडाले स्याउखेती विस्तारका लागि अनुदान दिएपछि किसानहरू उत्साहित भएर खेतीमा लागेका हुन्। पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवर्द्धन थालिएको स्थानीय पाण्डव राईले जानकारी दिए।

स्याउखेतीका लागि भू-बनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए। किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ।

“यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ। अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती पनि प्रोत्साहित गर्दै आएका छौँ,” वडाध्यक्ष आचार्यले भने।

यसअघि वडाले व्यावसायिक सुन्तलाखेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न नर्सरी स्थापना गरेको थियो। वैकुण्ठेमा स्याउ, सुन्तलालगायत फलफूलका बिरुवा उत्पादन गर्न सकिने उनले बताए।

कृषि शाखाका प्रमुख धीरज ठाकुरका अनुसार किसानका खेतबारीमा पुगेर प्राविधिक सहयोग प्रदान गरिएको छ। यो वर्ष हुर्काइएका स्याउका बिरुवाबाट चार वर्षपछि उत्पादन प्राप्त हुनेछ। जैविक खेती प्रणालीमा जोड्न किसानलाई जैविक मल तथा विषादी बनाउने तालिम पनि दिइएको छ। माटो परीक्षण गरेर माटो सुहाउँदो बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ।

गाउँपालिकाले कृषि गुरुयोजना तयार गरेर कृषिमा लगानी गरिरहेको छ। कृषि एम्बुलेन्समार्फत स्थानीय उपज बजार पुर्‍याइने गरिएको छ। साथै, पालिकाले सागसब्जी तथा फलफूलको ‘पकेट क्षेत्र’ निर्धारण गरी तदनुरूप काम गरिरहेको जनाएको छ। कृषि उपज भण्डारणका लागि भुल्के र वैकुण्ठेमा चिस्यान केन्द्र निर्माण गरिएको छ। सागसब्जीखेती विकासका लागि वडा नं ३ भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम सञ्चालन गरिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित