होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको चैत २४ र २५ गतेका लागि तय भएको अधिवेशन (चुनाव) स्थगित भएको छ।
संघको आगामी नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रियामा वर्तमान नेतृत्वले निर्वाचन प्रभावित गर्न जालझेल गरेको तथा इच्छुक व्यवसायीलाई मनोनयन दर्ताबाट बञ्चित गरेको आरोपसहित व्यवसायीहरूले संघको कार्यालयमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो।
व्यवसायीहरूले हालको निर्वाचन प्रक्रिया रद्द गरी नयाँ चुनावी प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका छन्। संघका वरिष्ठ उपाध्यक्ष माधव खनालका अनुसार नयाँ प्रक्रिया सुरु गर्ने सहमति भएपछि मात्र तालाबन्दी खोलिने बताइएको छ।
व्यवसायीहरूले राजनीतिक भागबण्डा भन्दा स्वतन्त्र प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने माग गर्दै उम्मेदवारी दर्तामा कुनै रोकावट हुनु नहुने बताएका छन्। तर, बुधबार साँझ अबेरसम्म भएको छलफलमा सहमति जुट्न नसक्दा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शालिकराम बन्जाडेले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।
संघका हालका अध्यक्ष लेखनाथ भण्डारी नेपाली कांग्रेस निकट हुन् भने तालाबन्दीको नेतृत्व गरेका वरिष्ठ उपाध्यक्ष माधव खनालसहितका व्यवसायी नेकपा एमाले निकट रहेको बताइएको छ। संघमा साना, मझौला र केही ठूला गरी ९२२ व्यवसायी आबद्ध छन्।