वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयको उच्च सतर्कता
वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयको उच्च सतर्कता
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

कञ्चनपुर ।

वन क्षेत्रमा डढेलो लाग्न नदिन तथा नियन्त्रण गर्न डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ। कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार वन क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त हुनासाथ आवश्यक सामग्रीसहित कर्मचारीलाई तत्काल नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको छ। ‘सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक सामग्री उपलब्ध गराइन्छ,’ उनले भने, ‘सामुदायिक वन तथा अन्य सम्बद्ध संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्नेछन्, जसका लागि समन्वय गरिएको छ।’

डढेलो नियन्त्रणका लागि कर्मचारीहरूलाई विशेष तयारी अवस्थामा राखिएको छ भने सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने, वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अघि बढाइएको छ। कार्यालय प्रमुख ठाकुरले हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहनुका साथै तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेको बताए।

‘चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताका कारण नियन्त्रण गर्न चुनौतीपूर्ण छ,’ उनले भने, ‘डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अवलम्बन गरेका छौं।’

सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्य प्रभावकारी भएकाले हालसम्म डढेलो लागेको कुनै जानकारी नआएको ठाकुरले बताए। वन तथा जनधनको क्षति न्यूनीकरण गर्न कार्यालय उच्च सतर्क अवस्थामा रहेको उनले जानकारी दिए।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आबद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नि नियन्त्रक टोली गठन गरेको छ। साथै, डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नि नियन्त्रक मूल समिति गठन गरी परिचालन गरिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित