ढोरपाटनमा रेडपाण्डा संरक्षणमा चुनौती: बासस्थान नासिँदै
ढोरपाटनमा रेडपाण्डा संरक्षणमा चुनौती: बासस्थान नासिँदै
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

बागलुङ ।

नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती थपिएको छ। रेडपाण्डाको प्राकृतिक बासस्थान निगालोको झाडी फडानी र डढेलोका कारण नासिँदै जाँदा संरक्षणमा जोखिम बढेको सरोकारवालाहरूको भनाइ छ।

रेडपाण्डा निगालोको झाडीमा बस्ने र निगालोको टुसा खाएर बाँच्ने गर्छ। तर पछिल्लो समय निगालोको झाडी मासिँदै जानु, डढेलो बढ्नु र जनघनत्वको असरले गर्दा यसको बासस्थान संकुचित हुँदै गएको छ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन्। यद्यपि, अहिलेसम्म एकीन गणना नभए पनि हाल झण्डै ३०० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ। विसं २०७४ मा गरिएको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम देखिएको भए पनि अहिले झण्डै २०० देखि ३०० सम्म पुगेको उनी बताउँछन्।

रेडपाण्डाको गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरिएको छ। आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकहरूमा रेडपाण्डा देखिएको सुवेदीको भनाइ छ। “२०७२ सम्म छिटपुट रूपमा मात्र देखिने रेडपाण्डा २०७४ को सर्भेमा सबै ब्लकमा भेटिएको थियो,” उनले भने, “अहिले त झन् धेरै ठाउँमा बाक्लो रूपमा देखिन्छ।”

सुवेदीका अनुसार ढोरपाटनमा देखिएको रेडपाण्डाको सङ्ख्या अन्य राष्ट्रिय निकुञ्जभन्दा बढी हो। सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले जानकारी दिए।

उनका अनुसार बढ्दो डढेलो, जंगल फडानी र जनघनत्वले रेडपाण्डाको संरक्षण चुनौतीपूर्ण बनेको छ। संरक्षणका लागि स्थानीय सरकार सक्रिय बन्नुका साथै स्थानीय बासिन्दालाई पनि सचेत बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

खासगरी कर्णाली क्षेत्रदेखि पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली भेगमा रेडपाण्डा पाइन्छ। हाल देशका २३ वटा हिमाली तथा पहाडी जिल्लामा मात्र रेडपाण्डा पाइने गरिएको छ। रेडपाण्डाको मुख्य आहारा निगालोको टुसा भएकाले निगालोको संरक्षण पनि अनिवार्य रहेको पन्थी बताउँछन्।

उनका अनुसार रेडपाण्डा लजालु स्वभावको हुने भएकाले सामान्य खललले पनि प्रभावित हुने भएकाले संरक्षणमा संवेदनशीलता आवश्यक छ।

साताकाे चर्चित
सम्बन्धित