दाङका पानी उद्योगमा प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य
दाङका पानी उद्योगमा प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

तुलसीपुर ।

दाङ जिल्लामा सञ्चालनमा रहेका अधिकांश पानी उद्योगमा प्रयोगशालाको व्यवस्था नरहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका अनुसार जिल्लाका पानी उद्योगहरूले बिना परीक्षण नै बजारमा पानी पठाइरहेका छन्।

डिभिजन कार्यालयका सूचना अधिकारी विवेककुमार सुवेदीले सबै पानी उद्योगको अनुगमन गर्दा प्रयोगशाला नरहेको पुष्टि भएको जानकारी दिए। “हामीले सबै उद्योगको अनुगमन गर्दा प्रयोगशाला नदेखिएपछि तुरुन्तै सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ,” उनले भने, “प्रयोगशालाको प्रमाणसहित कार्यालयमा जानकारी दिन पनि भनिएको छ।”

उनका अनुसार प्रयोगशाला नहुँदा उपभोक्ताले कस्तो पानी पिइरहेका छन् भन्ने जानकारी हुँदैन, जसले गर्दा बेला–बेलामा दूषित पानी बजारमा पुग्ने गरेको छ।

निर्देशिका विपरीत उद्योगको सञ्चालन

प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार पानी उद्योगले प्रयोगशाला अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। यदि प्रयोगशाला छैन भने, प्रशोधित र अप्रशोधित दुबै प्रकारका पानीको भौतिक तथा रसायनिक विश्लेषण महिनामा एकपटक मान्य प्रयोगशालाबाट गराउनुपर्ने हुन्छ। तर, अधिकांश उद्योगले यो व्यवस्था पालन गरेका छैनन्।

“उद्योगहरूले ‘आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै बजारमा पठाउँछन्,” सुवेदीले भने, “तर मेसिनमा गडबडी आएमा त्यो पानी शुद्ध छ कि छैन भनेर परीक्षण नगरी बजार पठाउनु उपभोक्ताको स्वास्थ्यसँग खेलबाड हो।”

हाल जिल्लामा २० वटा पानी उद्योग दर्ता भए पनि १२ वटा मात्र सञ्चालनमा छन्। तीमध्ये दूषित पानी गएकै कारण तुलसीपुर–९ स्थित भद्रकाली ड्रिङ्किङ वाटर (कुबेर जल)ले मात्र प्रयोगशाला सञ्चालनमा ल्याएको छ भने बाँकीले अझै पनि व्यवस्था गरेका छैनन्।

डिभिजन कार्यालयले सबै उद्योगलाई प्रयोगशाला अनिवार्य रूपमा स्थापना गर्न लिखित निर्देशन जारी गरिसकेको छ।

साताकाे चर्चित
सम्बन्धित