धनुषा ।
मिथिलाञ्चलमा आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधिहरूसँग मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठपर्व सम्पन्न भएको हो।
छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो। यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीहरू जस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक पूजा गरियो।
भक्तजनहरूले बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। पौराणिक कथनअनुसार, आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा गरेका थिए। महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूको पराजयको लागि सूर्यदेवको उपासना गर्दै छठपर्व मनाएको उल्लेख पाइन्छ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।
पारिवारिक सुख र समृद्धिका लागि पूजा
यस पर्वको माध्यमबाट पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगमुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने आशा राखी श्रद्धापूर्वक पूजा गरिन्छ। छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ।
षष्ठीका दिनको विशेष पूजा
षष्ठीका दिन साँझ व्रतीहरूले गहुँ, चामल, ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरेर सोबाट बनेका गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरूले भक्ति र लोकगीत गाएर निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए।
षष्ठी साँझ व्रतीहरूले सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता र फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो अर्पण गरेका थिए। आज बिहान पुनः छठ घाटमा पुगेर जलाशयमा पसेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गर्दै चैती छठपर्व सम्पन्न भएको छ।