काठमाडौं ।
आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधि टोली र कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारी टोलीले आज छलफल गर्ने भएको छ। शुक्रवार दिउँसो ३ बजे कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ।
महासंघका एक पदाधिकारीले भने, “हामीलाई सरकारको तर्फबाट बोलाइएको छ।” यसअघि बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो, जसपछि सरकार टोलीले महासंघलाई बैठकका लागि बोलाएको हो।
शुक्रबारको छलफलमा गृहमन्त्री, मुख्य सचेतक र प्रमुख सचेतकको पनि सहभागिता रहनेछ। तर, महासंघका पदाधिकारीहरूले सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत दिएका छन्। “सहमति पहिल्यै भइ सकेको हो। ऐन जारी गरियोस् भने हामी घर फर्किन्छौं,” आन्दोलन परिचालन समितिका संयोजक तथा महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्।
यसअघि, शिक्षक महासंघले शिक्षा ऐन जारी गर्ने माग गर्दै देशभरका शिक्षकहरूले २० चैतदेखि काठमाडौमा प्रदर्शन गरिरहेका छन्।