काठमाडौँ ।
सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन्।
सभामुख घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शुक्रबार बिहान कतार एयरवेजमार्फत दोहा हुँदै ताश्केन्टतर्फ प्रस्थान गरेको हो। प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव राजु रिमाल छन्।
चैत २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुने उक्त सम्मेलनमा सभामुख घिमिरेले “सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू” विषयमा सम्बोधन गर्नेछन्।
सांसद श्यामकुमार घिमिरे र सूर्यमान दोङ तामाङ स्थायी समितिको बैठकमा सहभागी हुनेछन्। अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने छन्। साथै, सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सम्मेलनसँगै सञ्चालन हुने महासचिवहरूको बैठकमा सहभागिता जनाउनेछन्। सभामुख घिमिरेले चैत २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा “बन्दुङ आत्माको ७० वर्षको सम्झना : बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसद्हरूको भूमिका” विषयमा मन्तव्य दिने कार्यक्रम रहेको छ।
उनले सम्मेलनको अवसरमा विभिन्न देशका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्नेछन्।