जुम्लाको नराकोटमा नापी तथा मालपोत कार्यालयको उद्घाटन, अब सेवा घर आँगनमै
जुम्लाको नराकोटमा नापी तथा मालपोत कार्यालयको उद्घाटन, अब सेवा घर आँगनमै
    • उमेश बुढा,

    • २२ चैत्र २०८१, शुक्रबार

जुम्ला

जुम्लाको ऐतिहासिक सिंजा क्षेत्रमा नापी तथा मालपोत कार्यालयको स्थायी सेवा सुरु गरिएको छ। सिंजा गाउँपालिका–३ स्थित नराकोटमा शुक्रबार एक औपचारिक समारोहबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन्।

यो कार्यालय खासगरी सिंजा क्षेत्रअन्तर्गत पर्ने तीन गाउँपालिका—हिमा, सिंजा र कनकासुन्दरीका बासिन्दालाई लक्षित गरी खोलिएको हो। स्थानीय सरकारले यसमार्फत नागरिकलाई घर नजिकैबाटै नापी तथा मालपोतसम्बन्धी सेवा दिने व्यवस्था मिलाएको छ।

कार्यक्रममा पञ्चेबाजा सहित मन्त्री अधिकारीको टोलीलाई भव्य स्वागत गरिएको थियो। संघीयताको सात वर्षपछि स्थानीय तहसम्म नापी तथा मालपोत सेवा विस्तार भएसँगै नागरिकहरुमा अत्यधिक उत्साह देखिएको छ।

अब सेवा लिन सदरमुकाम धाउनु नपर्ने

नापी तथा मालपोत कार्यालय नराकोटमै खुलेसँगै अब नागरिकहरूलाई जग्गा नामसारी, राजीनामा, खरिद–बिक्री जस्ता सेवाका लागि सदरमुकाम खलंगासम्म धाउनु पर्ने बाध्यता हटेको छ।

सिंजा–६ का मोति दमाईले भने, “संघीयताको उपहारस्वरूप हाम्रो क्षेत्रमै नापी मालपोत कार्यालय स्थापना भएपछि हामीले समय र पैसाको बचत गर्न सक्ने भयौं। अब घरकै खाना खाएर सेवा लिन पाउने भयौं, हप्तौँ होटलमा बस्नुपर्ने झन्झट हट्यो।”

यस्तै, तिलाचन्द्र चौलागाईंले पनि यसलाई ‘ऐतिहासिक सफलता’को संज्ञा दिंदै भने, “अब वृद्धबृद्धालाई सदरमुकाम पुर्‍याएर दुःख गर्नु पर्ने छैन, समय, खर्च र श्रम सबै बचत हुनेछ।”

सिंजामा विकासको नयाँ युग

मन्त्री अधिकारीले उद्घाटन समारोहमा बोल्दै ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण सिंजा क्षेत्रमा यस कार्यालय स्थापनाले आर्थिक र प्रशासनिक दृष्टिले ठूलो फड्को मारेको बताए। उनले प्रभावकारी सेवा प्रवाह र दिगो व्यवस्थापनमा आवश्यक सहयोग सरकारले निरन्तर गरिरहने प्रतिबद्धता जनाए।

संघीयता कार्यान्वयनपछि सिंहदरबार गाउँमै आएसँगै सेवा सुविधा विस्तार भए पनि नापी र मालपोतजस्ता प्रमुख सेवा भने अझै टाढा रहेकोमा जनस्तरमा असन्तुष्टि थियो। अब भने कार्यालय स्थापनासँगै विकासको नयाँ युग सुरु भएको स्थानीयले बताएका छन्।

सामूहिक प्रयासको परिणाम

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले यो उपलब्धि आफू एक्लो प्रयासले सम्भव नभएको भन्दै तीनै पालिकाको संयुक्त योगदान रहेको बताए। “गत पुस ९ गतेको मन्त्रिपरिषद् निर्णय र झन्डै २२ पटकसम्मका निरन्तर प्रयासपछि आजको दिन सम्भव भएको हो,” अध्यक्ष धितालले भने।

साविकका ११ वटा गाविसमध्ये १० वटा गाविसले यो कार्यालयबाट सेवा पाउनेछन्। तर हालको कनकासुन्दरी–१ (साविकको बुम्रमाडी चौर गाविस) का नागरिकले भने अझै पनि खलंगामै जानुपर्ने देखिएको छ।

परम्परागत संस्कृतिको झल्को

उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरूले विभिन्न साँस्कृतिक प्रस्तुति समेत दिएका थिए। कार्यालयको स्थापनासँगै अब नागरिकले समय, खर्च र श्रम तीनवटैको बचत गर्दै आफ्नै गाउँमा आवश्यक सेवा सहजै लिन सक्नेछन्।

साताकाे चर्चित
सम्बन्धित