ठाकुरबाबा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताएका छन्। मैनापोखरमा आयोजित “जनतासँग माओवादी तराई–मधेस जागरण अभियान” अन्तर्गतको खबरदारी सभालाई सम्बोधन गर्दै उनले बर्दियामा पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर प्रगति गरिने बताए।
उनले हुलाकी राजमार्गको कार्य धेरै समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो प्रधानमन्त्रीत्वको कार्यकालमा भारत सरकारको सहयोगमा उक्त योजनामा गति आएको स्मरण गरे।
बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले अब सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी काममा कुनै कानुनी अवरोध नरहने बताए। साथै, दुई महिनाभित्र सम्बन्धित आयोगका सिफारिस समितिले काम सुरु गर्ने जानकारी पनि दिए।
दाहालले सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा विभिन्न जिल्लामा बलिदान स्थलमा पार्क निर्माण गरिने, पीडित परिवारलाई राहत दिइने र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी दिइने स्पष्ट पारे।
सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उनले हालसम्म १५ लाखभन्दा बढी वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको जानकारी पनि गराए।