काभ्रेका २३ प्रतिशत खानेपानी स्रोत दूषित, फेइकल कोलिफर्म भेटिएको पुष्टि
काभ्रेका २३ प्रतिशत खानेपानी स्रोत दूषित, फेइकल कोलिफर्म भेटिएको पुष्टि
    • बेल संचार

    • २२ चैत्र २०८१, शुक्रबार

काभ्रेपलाञ्चोक ।

काभ्रे जिल्लामा परीक्षण गरिएका कुल ८८ स्थानमध्ये २३ प्रतिशत खानेपानी स्रोत दूषित रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको आठ महिनामा संकलन गरिएको नमूनामा यस्तो तथ्य देखिएको जनाएको हो।

कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठका अनुसार जिल्लाका १३ स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी योजनाबाट लिइएका नमूनामध्ये २० स्थानको पानी दूषित पाइयो।

श्रेष्ठले स्थानीय उपभोक्ता समिति, खानेपानी संस्थान तथा अन्य स्रोतबाट लिइएको पानी परीक्षण गर्दा दिशाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको जानकारी दिइन्।

उनका अनुसार कतिपय पानी स्रोत तथा ट्याङ्की नै दूषित छन् भने निजी रूपमा वितरण गरिने पानीमा समेत कीटाणु भेटिएको छ। जारमा पानी बिक्री गर्ने कम्पनीका मुहान, रिजर्भर र धारामा परीक्षण गर्दा समेत दूषित देखिएको हुँदा कतैबाट जारमा पानी भरेर बिक्री भएको शंका गरिएको र थप अनुसन्धान भइरहेको उनले बताइन्।

धुलिखेलस्थित प्रयोगशालाबाट परीक्षण गरिने पानी नमूनामा प्रमुख सहर बनेपा, पनौती, पाँचखालका साथै नेपाली सेना, नेपाल प्रहरी र स्थानीय इनारका पानी समावेश छन्।

प्रयोगशाला निरीक्षक भोलानाथ पौडेलका अनुसार दूषित देखिएका पानी स्रोतहरूमा उपचारको प्रक्रिया अगाडि बढाइएको छ।

कार्यालयले दूषित पानीका कारण हैजाको जोखिम हुने भएकाले विशेषतः बालबालिका, गर्भवती र वृद्धवृद्धालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

पानी उमालेर पिउनु, फिल्टर वा क्लोरिन झोल प्रयोग गर्नु, खाना पकाउनु अघि र दिसापिसाब गरेपछि साबुनपानीले हात धुनु, खानेकुरा राम्रोसँग पकाएर मात्र खानु, सडेगलेको र झिँगा लागेको खाना नखानु भन्ने सन्देश पनि कार्यालयले दिएको छ।

श्रेष्ठका अनुसार अब स्थानीय तहमा खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

साताकाे चर्चित
सम्बन्धित