बुटवल, रुपन्देही
सुप्रिम सहकारीमा ठगी र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने निर्णयलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। सोही आदेशअनुसार सुप्रिम सहकारी प्रकरणका अर्का आरोपी तथा गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा राख्ने जिल्ला अदालतको निर्णयलाई पनि सदर गरिएको छ।
सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी र गितेन्द्रबाबु (जीबी) राईसहित ४२ जनाको संलग्नतामा ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको अभियोग लाग्दै आएको छ। तीमध्ये रवि, छवि र जीबी राईमाथि मात्रै छुट्टै १० करोड ९९ लाख ३६ हजार रुपैयाँ अपचलन गरेको पूरक अभियोग लागेको हो।
जिल्ला अदालतले छविलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने रविलाई धरौटीमा छोडिएको थियो। तर, समान प्रकृतिका मुद्दामा फरक फैसला भएको भन्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा अपिल गरेको थियो। उता, छविलालले धरौटीमा छुट पाउनुपर्ने माग गर्दै निवेदन दर्ता गरेका थिए भने रविले तारेखमा मुद्दा लड्न पाउने निवेदन दिएका थिए।
यी तीनवटै निवेदनलाई एकसाथ सुनुवाइ गर्न बुटवल इजलासले बिहीबार एउटै पेशीमा राखेको थियो। सोही पेशीमा बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो भने शुक्रबारदेखि पुनः बहस सुरु भएको हो।