काठमाडौँ,
नेपाल बार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमितिको लागि आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्ष पदका लागि दुईजना वरिष्ठ अधिवक्ताहरू—प्राडा विजयप्रसाद मिश्र र डा. रमनकुमार श्रेष्ठ मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
वरिष्ठ अधिवक्ता मिश्र बृहत लोकतान्त्रिक, समावेशी, राष्ट्रवादी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गर्दै छन् भने डा. श्रेष्ठ व्यावसायिक कानुन व्यवसायी समूहको तर्फबाट उम्मेदवार बनेका हुन्। दुवै पक्षले न्यायपालिका सुधार र संस्थागत परिवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
प्राडा मिश्र नेतृत्वको समूहले नेपाल बारको संस्थागत सुदृढीकरण, संरचना तथा नीतिगत सुधारमा जोड दिएको छ। समूहले कानुन व्यवसायीहरूको पेशागत हित, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायालय प्रणाली तथा मानव अधिकार संरक्षणलाई प्राथमिक एजेन्डा बनाएको छ। साथै, युवा तथा महिला कानुन व्यवसायीहरूका लागि विशेष कार्यक्रम ल्याउने तयारी पनि समूहले जनाएको छ।
अर्कोतर्फ, डा. श्रेष्ठ नेतृत्वको समूहले कानुन व्यवसायीहरूको इज्जत, प्रतिष्ठा र पेशागत सुरक्षाको प्रत्याभूति दिने योजना अघि सारेको छ। समूहले सूचना प्रविधिमा कानुन व्यवसायीहरूको दक्षता अभिवृद्धि गर्ने र भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको छ।
यस निर्वाचनमा अध्यक्ष पदका लागि पाँच जना उम्मेदवार छन् — दुई समूहगत उम्मेदवारसहित तीन जना स्वतन्त्र उम्मेदवार (राजु कैती, उज्वल घिमिरे र आषिश पौडेल) चुनावी प्रतिस्पर्धामा छन्। २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न लागिएको यो निर्वाचनमा कुल ५७ जना उम्मेदवार मैदानमा छन्।
कुल ९,९५७ मतदाता मध्ये करिब ६ हजार मतदाता काठमाडौँस्थित सर्वोच्च अदालत परिसरमा रहेको मतदान केन्द्रमा मत हाल्नेछन्। देशभर ३६ वटा मतदान केन्द्र तोकिएको छ। मतदान आज बिहान ८ बजे सुरु भई बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतगणना मतदान सम्पन्न भएपछि सुरु हुने छ।