दुर्गा प्रसाईं अझै फरार, खोजीमा विशेष ब्युरो सक्रिय
दुर्गा प्रसाईं अझै फरार, खोजीमा विशेष ब्युरो सक्रिय

नेपालमै लुकेको प्रहरीको आशंका, सीआईबी र टेकु कार्यालय खोजीबाट पछि हटे

    • बेल संचार

    • २३ चैत्र २०८१, शनिबार

काठमाडौं

राजसंस्था समर्थक आन्दोलनमा सक्रिय देखिएका दुर्गा प्रसाईं प्रदर्शनपछिको रातदेखि फरार छन्। उनी कहाँ छन् भन्ने अझै खुलेको छैन। यद्यपि, नेपाल प्रहरीको विशेष ब्युरो अहिले उनको खोजीमा केन्द्रित भएको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईं विदेश पलायन भएको हल्ला चलाइए पनि वास्तविकता त्यस्तो नभई नेपालमै कतै लुकेर बसेको ठोस आशंका गरिएको छ। विशेष ब्युरोले यस विषयमा अनुसन्धान तीव्र बनाएको छ भने अन्य शाखालाई आवश्यक परेमा खटाउनका लागि हाइअलर्टमा राखिएको छ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले प्रसाईंको खोजीमा सक्रियता देखाएका थिए। तर, पछिल्लो दुई दिनदेखि ती निकायहरूले खोजी कार्य बन्द गरिसकेका छन्।

एक अनुसन्धान अधिकारीका अनुसार, “अब विशेष ब्युरोले खोजी गरिरहेको छ। हामी हाइअलर्टमा छौं, आवश्यकता परेमा पुनः परिचालन हुनेछौं।”

प्रसाईंले प्रयोग गर्ने उपकरणहरू, उनका पछिल्ला लोकेसन डाटाहरू, र प्रदर्शनस्थल वरपरका सिसिटिभी फुटेजहरूको अध्ययनबाट केही महत्वपूर्ण तथ्य फेला परेको बताइएको छ। ती विवरण विशेष ब्युरोलाई हस्तान्तरण गरिएको छ।

प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, र अधिवक्ता भद्रप्रसाद नेपाललाई प्रहरीले पक्राउ गरिसकेको छ। तर आन्दोलनका प्रमुख योजनाकार मानिएका प्रसाईं अझै प्रहरीको पहुँच बाहिर छन्।

विशेष ब्युरोको नेतृत्वमा रहेका डीआईजी सिद्धिविक्रम शाहले भने यसबारे प्रतिक्रिया दिन मानेनन्। यद्यपि प्रहरी मुख्यालयले अनुसन्धानमा कुनै कमजोरी नगरिएको र आवश्यक सबै स्रोत परिचालन गरिएको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित