बागमती गाउँपालिका–३ छपेली नजिकै प्रहरीले भारतीय नम्बर प्लेट भएको एउटा एम्बुलेन्सबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। मकवानपुरबाट कान्तिलोकपथ हुँदै राजधानी काठमाडौं आउँदै गरेको बीआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा ट्रामाडोल ट्याब्लेट फेला परेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, भट्टेडाँडामा गरिएको नियमित चेकजाँचको क्रममा उक्त एम्बुलेन्सबाट ९४,०८० वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो।
प्रहरीको भनाइअनुसार, लागुऔषध तस्करीमा संलग्न व्यक्तिहरूले बिरामी व्यक्तिहरूको आडमा आफ्नो योजना अघि बढाएका थिए। उनीहरूले आठ वर्षका बालक, १६ वर्षका किशोर र एक बिरामी महिलाको प्रयोग गरेर ट्राफिकिङ्ग प्रयास गरेका थिए।
रेग्मीले जानकारी दिए अनुसार, एम्बुलेन्सका चालकसहित एक जनालाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूको साथबाट तीनवटा मोबाइल फोनसमेत बरामद गरिएको छ।