काठमाडौं
नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपाका सभापति रवि लामिछानेमाथि गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोध भन्नु उपयुक्त नभएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै सांसद थापाले सहकारी घोटालामा संलग्नता रहेकाले लामिछाने आजको परिणाम भोगिरहेको उल्लेख गरे। उनले रास्वपाका नेताहरुले न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाएर सहानुभूति खोजेको आरोप पनि लगाए।
थापाले लेखेका छन्, “सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन गर्ने निर्णय स्वयं पार्टीले नै गरेको थियो। समितिको सिफारिसपछि अनुसन्धान र अभियोजन भएको हो, तर अहिले प्रतिशोधको नाममा जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको छ।”
उनले थप लेखेका छन्, “न्यायालयको आदेशअनुसार धरौटी समेत तिर्नु पर्यो, पुर्पक्षका लागि थुनामा पठाइयो। यति हुँदाहुँदै पनि सिंगो पार्टी मिलेर अदालतकै निर्णयविरुद्ध रोइलो गर्नु गलत हो।”
थापाले रविमाथिको मुद्दा नयाँ पार्टी खोलिएपछि नभइ, पुराना सहकारी गतिविधिसँग सम्बन्धित रहेको प्रष्ट पारे। “यो त बचतकर्ताको पैसासँग गरिएको खेलवाड हो, जुन विश्वासघात र अपचलनका रूपमा लिनुपर्छ,” उनको टिप्पणी थियो।
उल्लेखनीय छ, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उनलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार रुपन्देही लगिएको थियो। अब उनलाई सोमबार कारागार चलान गरिने तयारी छ।