तस्बिरः एएफपी।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (Department of Government Efficiency) प्रमुख इलन मस्कविरुद्ध अमेरिकामा शनिबार व्यापक विरोध प्रदर्शनहरू भएका छन्।
अमेरिकाका सबै ५० राज्यका झन्डै १४ सय स्थानमा नागरिकहरूले सडकमा ओर्लेर आक्रोश व्यक्त गरेका हुन्। सीएनएनका अनुसार पछिल्लो समय ट्रम्पको नीति र मस्कको भूमिका प्रति असन्तुष्टि झन् चुलिँदै गएको छ।
ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेको केही महिनामै विरोध चुलिएको हो। सुरुवातदेखि नै उनका निर्णय र कार्यशैली विवादमा रहे पनि यस्तो स्तरको देशव्यापी प्रदर्शन भने पहिलो पटक देखिएको हो।
प्रदर्शनकारीहरूले ट्रम्पको आप्रवासी नीति, संघीय सहायता कटौती, र अन्तर्राष्ट्रिय सम्बन्धमा लिएको रवैया प्रति गम्भीर आपत्ति जनाएका छन्।
इलन मस्कको नेतृत्वमा रहेको डोज (DOGE) संस्थालाई सिनेटको स्वीकृति बिना गठन गरिएको र उनले सरकारको नीति निर्माणमा प्रभाव जमाएको भन्दै आलोचना भइरहेको छ। मस्ककै सल्लाहमा संघीय कर्मचारी कटौती र USAID कार्यक्रमहरू रोकिएको बताइन्छ।
प्रदर्शनको क्रममा ‘Hands Off’ लेखिएको प्लेकार्ड बोकेका नागरिकहरूले तीन प्रमुख माग अघि सारेका छन् – अर्बपतिहरूको प्रभाव नियन्त्रण, सामाजिक सेवामा गरिँदै आएको कटौती बन्द, र आप्रवासी तथा अल्पसंख्यक समुदायप्रति गरिने आक्रमण रोक्नुपर्ने।
ट्रम्पले हालै अघि सारेको पारस्परिक भन्सार नीतिका कारण पनि असन्तोष चुलिएको छ। यस नीतिले वस्तु तथा सेवाको मूल्यवृद्धि गराउने आशंका जनाइएको छ। यद्यपि ट्रम्पले भने अमेरिकाको दीर्घकालीन लाभका लागि केही समयको कठिनाइ स्वाभाविक रहेको बताएका छन्।
शनिबारको विरोध प्रदर्शनमा करिब ६ लाख अमेरिकीहरू सहभागी भएका थिए। अमेरिका बाहिर लन्डन र पेरिसमा पनि ट्रम्पविरुद्ध प्रदर्शन भएको बीबीसीले उल्लेख गरेको छ।