काठमाडौं
नेपाल बार एशोसिएसनको २७औं केन्द्रीय कार्यसमिति चयनको लागि भएको निर्वाचनको मतगणना सोमबारबाट सुरु गरिने भएको छ।
शनिबार सम्पन्न मतदानपछि अब काठमाडौं बाहिरका मतदान केन्द्रबाट मतपेटिका आइतबार बेलुका सम्म राजधानी ल्याइनेछ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले मतपेटिका आइपुगेपछि सोमबारदेखि गणना प्रक्रिया थालिने जानकारी दिए।
यस निर्वाचनमा कूल ९ हजार ९५७ जना मतदातामध्ये झन्डै ८० प्रतिशतले मतदान गरेका छन्।
बारको नयाँ कार्यसमितिका लागि ५७ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्। कूल २५ सदस्य रहने कार्यसमिति चयनका लागि देशभरका ३६ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो।
अध्यक्ष पदका लागि दुई वरिष्ठ अधिवक्ताबीच प्रतिस्पर्धा भएको छ — प्राडा विजयप्रसाद मिश्रले नेतृत्व गरेको बृहत लोकतान्त्रिक, समावेशी कानुन व्यवसायी समूह र रमनकुमार श्रेष्ठको नेतृत्वमा रहेको व्यावसायिक कानुन व्यवसायी समूह।
प्राडा मिश्रको समूहबाट महासचिव पदमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको उम्मेदवारी छ भने श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा छन्।
बारको नेतृत्व कसले सम्हाल्ने भन्ने चासो कानुन व्यवसायी समुदायमा निकै बढेको छ, र सोमबारबाट सुरु हुने मतगणनाले नयाँ कार्यसमितिको तस्वीर स्पष्ट पार्नेछ।