काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको गतिविधिको विरोध गर्दा वर्तमान सरकारलाई केही हदसम्म सहज महसुस हुन सक्ने भए पनि आफूहरू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कठोर आलोचक नै रहेको स्पष्ट पारेका छन्।
काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको भेलालाई आइतबार सम्बोधन गर्दै प्रचण्डले ओली नेतृत्वको कुशासनकै कारण राजावादी प्रवृत्तिले फेरि सक्रियता देखाउन थालेको आरोप लगाए।
“हामीले प्रतिगमनविरोधी सभा गर्दा केही राहत त सरकारलाई महसुस भएको हुन सक्छ,” प्रचण्डले भने, “तर त्यो राहत स्थायी हुनेवाला छैन। सरकारको भ्रष्टाचार, अत्याचार, र जनविरोधी कार्यशैलीको हामी गम्भीर प्रतिवादमा छौं।”
उनले सरकारको विफलताका कारण जनतामा निराशा चुलिंदै गएको र त्यसकै फाइदा उठाउँदै राजावादी र प्रतिगामी शक्तिहरूले ‘धमिलो पानीमा माछा मार्न’ खोजेको टिप्पणी गरे।
प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारमाथि पनि आलोचना गर्दै भने, “भ्रष्टाचारमा लिप्त आफ्ना मान्छेहरूको संरक्षण गर्दै, राम्रो काम गर्न खोज्नेहरूलाई हटाउने प्रवृत्तिले जनविश्वास गुमेको छ। मेरो नेतृत्वमा सरकार सञ्चालन हुँदा गरिएका सुधार प्रयासहरूलाई समेत अपारदर्शी ढंगले कमजोर पारिएको थियो।”
वर्तमान परिस्थितिमा जनआन्दोलनको तयारी तीव्र हुँदै गएको उल्लेख गर्दै प्रचण्डले ओली सरकारलाई निर्णायक झट्का दिने चेतावनीसमेत दिए।