जुम्ला
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को आगामी जिल्ला अधिवेशनका लागि सिँजा गाउँपालिकाबाट प्रतिनिधिहरूको टुंगो लगाइएको छ।
चैत्र २७ र २८ गते जुम्ला बजारमा आयोजना हुने नवौं जिल्ला अधिवेशनलाई लक्षित गर्दै सिँजा गाउँपालिका कमिटीले ३४ जना प्रतिनिधिहरूको नाम तय गरेको हो।
होटल हिमा कर्णालीमा उपाध्यक्ष तारा शाहीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि छनोटको प्रक्रिया टुंग्याएको थियो। प्रतिनिधिमा शंख रोकाया, दीपबहादुर शाही, भक्तबहादुर नेपाल, मञ्जिते राना, खड्कबहादुर राना, विष्णुमाया सिंह शाही, पुन्नलाल रावत, हरीबहादुर शाही, जौरा बुढा, पदमबहादुर बुढा, रुपा रोकाया, गोपाल रोकाया, प्रेमबहादुर बुढालगायतको समावेश गरिएको उपाध्यक्ष शाहीले जानकारी दिए।
पार्टीका केन्द्रीय सदस्य पदम रोकायाका अनुसार, सिँजाका ५०३ संगठित सदस्यहरूमध्येबाट ३४ जनालाई प्रतिनिधिको रूपमा छनोट गरिएको हो। उनले जिल्लाका अन्य सात स्थानीय तहमा पनि प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै अधिवेशन तय मितिमै सम्पन्न हुने विश्वास व्यक्त गरे।