काठमाडौं
नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ। पार्टीका प्रवक्ता अग्नि सापकोटाले सोमबार जारी गरेको विज्ञप्तिमा शिक्षकहरूको चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ऐन तत्काल जारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
सापकोटाका अनुसार, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको सरकारले नेपाल शिक्षक महासंघसँग २०८० सालको असोज ५ र १२ गते गरिएका सहमति कार्यान्वयन गर्नु आवश्यक छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरूले आफ्ना शैक्षिक जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण तयार पार्न विशेष अधिवेशन वा अन्य विधिबाट विद्यालय शिक्षा ऐन जारी गर्न हामी सबै सरोकारवालासँग अपिल गर्दछौं।”
शिक्षकहरूले उठाएका मागहरूलाई उचित ठान्दै माओवादी केन्द्रले आम नागरिकलाई समेत आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ। पार्टीले लामो समयदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा चलिरहेको आन्दोलनप्रति गम्भीर चासो व्यक्त गर्दै, सरकारले शिक्षा विधेयकको विषयमा बेवास्ता गर्नु निन्दनीय भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “दश महिना लामो समयसम्म शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन नगर्नु दुःखद हो। अर्कोतर्फ, राष्ट्रिय हितमा गहिरो असर पार्ने खालका कानुनहरू अध्यादेशमार्फत् छिटोछिटो ल्याउन सक्ने सरकारले अब आएर मात्र शिक्षक आन्दोलन चर्किएपछि विधेयक पारित गर्ने कुरा गर्नु हास्यास्पद हो। यसबाट सरकारको उदासीनता र गैरजिम्मेवारीपन पुष्टि हुन्छ।”