काठमाडौं
नेपाल बार एसोसिएसनको २७औं कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना प्रारम्भिक चरणमा प्रवेश गरेको छ। २५ पदका लागि प्रतिस्पर्धामा उत्रिएका ५७ जना उम्मेदवारहरूमध्ये केन्द्रीय अध्यक्ष पदमा सत्ता गठबन्धनबाट विजयप्रसाद मिश्र र विपक्षी गठबन्धनबाट रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
कोशी प्रदेशअन्तर्गतका केही जिल्ला तथा कोशी उच्च बारको प्रारम्भिक मतपरिणामअनुसार मिश्रले १९१ मत प्राप्त गर्दा श्रेष्ठले ११९ मत ल्याएका छन्। यस आधारमा मिश्रले प्रारम्भिक अग्रता लिएका छन्।
शनिबार सम्पन्न मतदानमा देशभरका ३६ वटा केन्द्रमा ९ हजार ९५७ मध्ये करिब ८० प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए। मतदान काठमाडौंसहित देशभरका विभिन्न स्थानहरूमा सम्पन्न भएको हो।
नयाँ नेतृत्वले बारको आगामी कार्यदिशा र संस्थाको सुदृढीकरणमा भूमिका खेल्ने भएकाले यस निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।