काठमाडौं
सुप्रिम सहकारी प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार भैरहवास्थित जिल्ला कारागार चलान गरिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएपछि कारबाही अघि बढाइएको हो।
रविलाई प्रहरीले शुक्रबार साँझ बूढानीलकण्ठस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर शनिबार बिहान हवाई मार्गबाट रुपन्देही पुर्याइएको थियो। आइतबारसम्म रुपन्देहीमा रहेका उनी सोमबार अदालतको आदेशअनुसार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि उच्च अदालतले सो आदेश उल्टाउँदै थुनामा पठाउन निर्देशन दिएको थियो। लामिछानेमाथि संगठित सहकारी ठगीको आरोप लागेको हो।
लामिछाने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको छ। त्यस्तै, पोखरा उच्च अदालतमा समेत उनीसँग सम्बन्धित अर्को मुद्दा विचाराधीन अवस्थामा रहेको बताइएको छ।
यसअघि कास्की, काठमाडौं र चितवनका अदालतहरूले पनि सहकारी ठगीसम्बन्धी मुद्दामा रविसँग धरौटी माग गरेका थिए। पर्सामा पनि उनलाई लिएर उजुरी परेको छ, जहाँ अनुसन्धानको प्रक्रिया अझै बाँकी छ।