राप्रपा नेपाल लिङ्देनको कार्यक्रमबाट अलग, जगमान गुरुङको आन्दोलनमा समर्थन
राप्रपा नेपाल लिङ्देनको कार्यक्रमबाट अलग, जगमान गुरुङको आन्दोलनमा समर्थन
    • बेल संचार

    • २५ चैत्र २०८१, सोमबार

काठमाडौं

कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपा (लिङ्देन पक्ष)द्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी नहुने निर्णय गरेको छ। सोमबार बसेको कार्यसम्पादन समिति बैठकले लिङ्देन पक्षको मंगलबार बल्खुमा हुने कार्यक्रममा नजाने तर डा. जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आयोजना गर्ने आन्दोलनमा सहभागी हुने निर्णय गरेको हो।

राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै हिन्दू राष्ट्र, राजसंस्था र प्रजातन्त्रको पुनःस्थापनाको पक्षमा आफू स्पष्ट रूपमा उभिएको जनाएको छ। विज्ञप्तिमा उल्लेख छ, “राजा, हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रलाई बदनाम गर्न र निषेध गर्न गम्भीर षडयन्त्र भइरहेको वर्तमान समयमा सबै राष्ट्रवादी, हिन्दुवादी र राजावादी शक्तिहरू एकताबद्ध हुन आवश्यक छ।”

राप्रपा नेपालले चैत २७ गते (बुधबार) संयुक्त जनआन्दोलन समितिद्वारा आयोजना हुने प्रतिबद्धता सभामा सक्रिय सहभागिता जनाउने र आफ्ना कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूलाई त्यसमा सहभागी हुन आग्रह गरेको छ। तर, बल्खुमा राप्रपा (लिङ्देन)ले आयोजना गर्न लागेको कार्यक्रमबारे भने कुनै उल्लेख गरिएको छैन।

बैठकमा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाबारे पनि चर्चा गरिएको छ। राप्रपा नेपालले त्यस दिनको अराजक अवस्था सरकारकै नियोजित रणनीति भएको आरोप लगाएको छ। घटनामा ज्यान गुमाएका सविन महर्जन र पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरिएको छ।

त्यसैगरी, चैत १५ मा अराजकता नियन्त्रण गर्न प्रयासरत रहेका व्यक्तिहरूमाथि झूटा मुद्दा लगाइएको भन्दै थुनामा रहेका डा. धवल शमशेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङलगायत सबैलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरिएको छ। यद्यपि, राप्रपा नेपालले उनीहरूलाई “राप्रपा नेता” भनेर स्पष्ट रूपमा उल्लेख गरेको छैन।

कमल थापा यसअघि राप्रपाका अध्यक्ष थिए तर चुनावमा लिङ्देनसँग पराजित भएपछि पृथक रूपमा राप्रपा नेपाल गठन गरेका हुन्।

साताकाे चर्चित
सम्बन्धित