जुम्लामा ७० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको तयारी, वातावरणीय मूल्यांकन सुरु
जुम्लामा ७० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको तयारी, वातावरणीय मूल्यांकन सुरु
    • बिर बहादुर राना

    • २७ चैत्र २०८१, बुधबार

जुम्ला

जुम्लाको तिला नदीमा प्रस्तावित ७०.३७ मेगावाट क्षमताको जवा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया सुरु गरिएको छ।

नेपाल विद्युत प्राधिकरण, इञ्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गतको वातावरण तथा सामाजिक अध्ययन विभाग, लाजिम्पाट, काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन निर्धारण सम्बन्धी प्रस्ताव ल्याएको हो।

उक्त आयोजना जुम्ला तथा कालिकोट जिल्लाबाट बग्ने तिला नदीमा निर्माण गरिनेछ। ‘पिकिङ रन अफ दि रिभर’ प्रणालीमा निर्माण हुने यस आयोजनाबाट दैनिक ६ घण्टा विद्युत उत्पादन गरिने योजना रहेको विभागले जनाएको छ।

प्रस्तावित आयोजना जुम्ला जिल्लाको तिला गाउँपालिका, रारालिही क्षेत्रको पड्डुखोला स्थानमा अवस्थित हुनेछ। यहाँ १८ मिटर अग्लो र ५७.५० मिटर लामो बाँध निर्माण गरिनेछ। बाँधबाट ६.४२३ किलोमिटर लामो सुरुङमार्फत पानी नाग्मस्थित विद्युतगृहमा पुर्‍याइनेछ।

विद्युत प्राधिकरण वातावरणीय मूल्याङ्कन अध्ययन टोलीका प्रमुख प्रकाश गौडेलका अनुसार जुम्लालाई केन्द्रमा राखेर अघि बढाइएको उक्त आयोजनाको वातावरणीय मूल्याङ्कनको काम प्रारम्भ भइसकेको छ। उनका अनुसार, मूल्याङ्कनपश्चात डिजाइन, लागत अनुमान, स्रोत सुनिश्चितता लगायतका चरण पार गर्दै आयोजना अघि बढाइनेछ।

गौडेलले भने, “जुम्लामा निर्माणाधीन विद्युत प्राधिकरणको सबस्टेशनले विद्युत आपूर्तिमा गुणस्तर वृद्धि गर्नेछ भने यो आयोजना अघि बढेमा राज्यलाई समेत आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।”

वातावरणीय मूल्याङ्कनका लागि सूचना सार्वजनिक भएपछि स्थानीयवासीहरूमा उत्साह छाएको छ।

आयोजनाका प्रारम्भिक परिकल्पनाकार तथा पहलकर्ता पूर्व संविधानसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लालाई उत्पादनशील र उज्यालो बनाउने अभियानमा आफू निरन्तर लागिरहेको बताउनुभयो।

भण्डारीले भन्नुभयो, “परियोजनाको प्रारम्भिक सर्भे, इजाजतपत्र प्राप्ति, र अब वातावरणीय मूल्याङ्कन क्षेत्र निर्धारणका लागि लिखित मागसम्मको चरणमा आइपुगेको छ। यो नयाँ उचाइतर्फको प्रगति हो।”

साताकाे चर्चित
सम्बन्धित