काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आम नागरिकहरूका लागि अब लोडसेडिङको समस्या नरहने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति अझै पनि चुनौतीपूर्ण रहेको स्वीकार गरे तापनि, सामान्य उपभोक्ताहरूको घरमा लोडसेडिङ नहुनेमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
सान्जेन खोला जलविद्युत् आयोजनाको सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले योग्य र कुशल नेतृत्व प्राप्त गरेको उल्लेख गर्दै, अब आर्थिक सुशासनमार्फत् संस्थालाई अझ मजबुत बनाउने दिशामा काम भइरहेको बताए।
उनका अनुसार, ऊर्जा क्षेत्रको विकास देशको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यही सोचका साथ सरकारले आगामी १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। यस योजनामा भारत, चीनजस्ता छिमेकी मुलुकहरूसँग सहकार्य महत्वपूर्ण रहने उनको धारणा थियो।
कार्यक्रमको अवसरमा उनले सान्जेन खोला जलविद्युत कम्पनीलाई राष्ट्रिय प्रसारण लाइनमा ७८ मेगावाट विद्युत सफलतापूर्वक जडान गरेकोमा धन्यवाद ज्ञापनसमेत गरे।