डोटीमा चट्याङको प्रकोप: एकको ज्यान गयो, सात जना घाइते
डोटीमा चट्याङको प्रकोप: एकको ज्यान गयो, सात जना घाइते
    • बेल संचार

    • २८ चैत्र २०८१, बिहीबार

डोटी, 

डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा चट्याङ लागेर एक महिलाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन्। बुधबार राति परेको चट्याङले स्थानीय लहरी नागरीको घरमा विनाश ल्याएको हो।

प्रहरीका अनुसार, चट्याङ लागेर ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। मृतक कमलासँगै घरमै रहेका उनका चार सन्तानसमेत घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले दिएको जानकारीअनुसार घाइतेहरूमा १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र तीन महिनाका शङ्कर नागरी छन्।

त्यसैगरी, घटनास्थलमै रहेका अन्य तीन जना – ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि चट्याङको असरबाट घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले यो दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै पीडित परिवारलाई आवश्यक सहयोगको माग गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित