आठ महिनामा साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स, वैदेशिक लगानी पनि बढ्दो
आठ महिनामा साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स, वैदेशिक लगानी पनि बढ्दो
    • बेल संचार

    • २८ चैत्र २०८१, बिहीबार

काठमाडौँ,

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा मुलुकमा साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार, यो अवधिमा कुल १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देश भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

पछिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा हेर्दा यस वर्ष ६.९ प्रतिशतले वृद्धि भई कुल रेमिट्यान्स ७ अर्ब ७४ करोड डलर पुगेको छ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि वृद्धि

रोजगारीका लागि वैदेशिक श्रम स्वीकृति लिने नेपालीको संख्यामा समेत उल्लेख्य वृद्धि देखिएको छ। आठ महिनामा तीन लाख १७ हजार ६८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका छन् भने, दुई लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा यो संख्याहरू क्रमशः दुई लाख ८५ हजार ३५२ र एक लाख ८२ हजार ७८३ थिए।

चालु खाता, पुँजी प्रवाह र शोधनान्तरमा सुधार

चालु खातामा पनि उल्लेख्य बचत देखिएको छ। यो अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहँदा, अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा पनि चालु खाताले १ अर्ब ३३ करोड डलर बराबरको बचत देखाएको छ।

पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो। प्रत्यक्ष वैदेशिक लगानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८ अर्ब ४९ करोड पुगेको छ।

विदेशी विनिमय सञ्चिति २४ खर्ब नाघ्यो

विदेशी मुद्राको सञ्चिति पनि फागुन मसान्तसम्म २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ, जुन अघिल्लो असारको तुलनामा १८ प्रतिशतको वृद्धिदर हो। यसमध्ये राष्ट्र बैंकसँग मात्र २१ खर्ब ३० अर्ब ३१ करोड विदेशी विनिमय सञ्चिति रहेको छ।

बैङ्क तथा वित्तीय संस्थासँग रहेको सञ्चिति पनि ४४.९ प्रतिशतले वृद्धि भई दुई खर्ब ७८ अर्ब ९५ करोड पुगेको छ।

साताकाे चर्चित
सम्बन्धित