सिलाई कटाई पेशाबाट मनग्य आम्दानी गर्दै — गंग सार्की
सिलाई कटाई पेशाबाट मनग्य आम्दानी गर्दै — गंग सार्की
    • बेल संचार

    • २९ चैत्र २०८१, शुक्रबार

 जुम्ला।

सिंजा गाउँपालिका–३ नराकोटका गंग सार्कीले सिलाई कटाईको पेशाबाट मनग्य आम्दानी गर्दै आएका छन्। उनले लामो समयदेखि नराकोट बजारमा ‘गंग टेलर्स’ सञ्चालन गर्दै आइरहेका छन्।

सार्कीले एक्लै सिलाई कटाईको काम सुरु गरे पनि अहिले उनले आफ्नै गाउँका दाजुभाइहरूलाई रोजगारी प्रदान गर्न थालेका छन्। सिलाईबाट कमाएको आम्दानीले उनले घर खर्च चलाएका छन्, छोराछोरीको शिक्षामा लगानी गरेका छन्, र नेपालका विभिन्न ठाउँमा जग्गा जमिन समेत जोडेका छन्।

उनका अनुसार, सुरुमा हाते मेसिनबाट काम थालिएको भए पनि अहिले आधुनिक विद्युतिय मेसिन प्रयोग गरेर सिलाई कटाईको काम गरिँदैछ। “मेहनत, अनुशासन र धैर्यतापूर्वक काम गरेपछि विदेश जानु पर्दैन, स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ,” सार्की भन्छन्, “सिलाई कटाईबाट मैले जीवनमा धेरै प्रगति गरेको छु।”

हाल गंग टेलर्समा ७ जना युवाहरूलाई स्थायी रोजगारी प्रदान गरिएको छ। सिलाईसँगै उनले जुत्ता, चप्पल, इलेक्ट्रोनिक सामान, कुकरका सामान, काँचो कपडा तथा तयार सिलाइएको सामग्री पनि टेलर्समै उपलब्ध गराएका छन्।

उनको टेलर्समा कोट, पाइन्ट, सर्ट, दौरा सुरुवाल, ढाका टोपी, अस्कोट, चोली, म्याक्सी, कुर्ता सुरुवाल, पेटिकोट लगायतका कपडाहरू दक्ष र अनुभवी कालीगडहरूबाट सिलाउने व्यवस्था गरिएको छ।

सिंजा, हिमा, कनकासुन्दरी गाउँपालिका तथा कालिकोटको पलाता गाउँपालिकाबाट समेत कपडा सिलाउन ग्राहकहरू आउने गर्छन्।

उनले व्यवसायको लागि छुट्टाछुट्टै दर्ता गरी जुत्ता चप्पल, सिलाई कटाई, इलेक्ट्रोनिक सामान, काँचो कपडा, झोला, छाता र कुकरका सामान बेच्ने अनुमति प्राप्त गरेका छन्। टिनको टहरामा बनाइएका छुट्टाछुट्टै कोठामा यी सबै सामग्री उपलब्ध छन्।

गंग टेलर्समा दैनिक रूपमा सेवाग्राहीको उल्लेख्य भीड लाग्ने गरेको छ। विगत दुई दशकदेखि सिलाई कटाईमा क्रियाशील रहेका गंग सार्कीको यो व्यवसाय अब उनको परिवारकै सहकार्यमा अझ विस्तार हुँदै गएको छ।

साताकाे चर्चित
सम्बन्धित