दैलेखमा वडा अध्यक्षलाई पोलमा बाँध्ने घटना : चार जना युवाहरू पक्राउ
दैलेखमा वडा अध्यक्षलाई पोलमा बाँध्ने घटना : चार जना युवाहरू पक्राउ
    • बेल संचार

    • २९ चैत्र २०८१, शुक्रबार

दैलेख

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ डौंसुरमा एक वडा अध्यक्षलाई बिजुलीको पोलमा बाँधिएको घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुमित दाहालले दिएका जानकारी अनुसार दुल्लु नगरपालिका–३ का वडा अध्यक्ष कुलबहादुर कार्कीमाथि हातपात गरी भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ निवासी ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल, १९ वर्षीय विशाल खड्का र २१ वर्षीय वीरेन्द्र खड्का रहेका छन्।

वडा अध्यक्ष कार्कीले प्रहरीमा उजुरी दिँदै आफूलाई बाटो छेकेर कुटपिट गरिएको, हत्या गर्ने धम्की दिइएको र करिब ३ सय मिटर टाढा रहेको पोलमा डोरीले बाँधेर शारीरिक तथा मानसिक रूपमा यातना दिएको बताएका छन्। उक्त घटनाको भिडियो फेसबुक लगायतका सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले छानबिन तीव्र पारेको थियो।

घटना चैत २४ गते रातिको हो। अध्यक्ष कार्की डौंसुरस्थित एक साथीलाई भेट्न गएका बेला उनीमाथि हमला भएको खुलेको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका कार्कीको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

डीएसपी दाहालका अनुसार घटनासम्बन्धी ‘शरीर बन्धक’ तथा ‘अपहरण’ जस्ता अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको छ। हाल पक्राउ परेकाहरूलाई जिल्ला अदालत दैलेखबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित