के साँच्चै भोकमरी नै छ त मेरो कर्णाली?
के साँच्चै भोकमरी नै छ त मेरो कर्णाली?
    • आत्मराम आचार्य

    • ३० चैत्र २०८१, शनिबार

जुम्ला।


जुम्लामा मात्र उत्पादन हुने विश्वकै दुर्लभ र लोकप्रिय धान हो – जुम्ली मार्सी। संसारमै सबैभन्दा उच्च स्थानमा अर्थात् समुद्री सतहबाट करिब २,७९० मिटरको उचाइमा उत्पादन हुने यो धान प्रजाति पोषण र स्वादका हिसाबले अद्वितीय मानिन्छ। नेपाल मात्रै होइन, तेस्रो मुलुकमा समेत यसको माग दिन प्रतिदिन बढ्दो छ। जुम्लामा हरेक वर्ष चैत १२ गते बाट मार्सी धानको खेती सुरु हुने चलन छ।

स्थानीय परम्पराअनुसार महिलाले “मागल” गाएर चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका लगायतका देवी-देवताहरूलाई सम्झेर, आफ्ना कुलदेवतालाई साक्षी राखेर बीउ राख्ने गरिन्छ। जिल्लाका आठवटै स्थानीय तहमा मार्सी खेती गरिए पनि पातारासी गाउँपालिकास्थित छुमचौर ज्युलो मा यसको खेती सबैभन्दा धेरै हुन्छ।

कृषि विकास कार्यालय जुम्ला का अनुसार जिल्लामा करिब २,८०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ।
चैत १२ गते भिजाइएको बीउ १६ गते तातो कुनामा पानी तारेपछि पातीले छोपिन्छ। १८ देखि २० गतेसम्म हिलो बनाएर बीउ छरिन्छ। वैशाख १ गते पानी सुकाउने, जेठ १ देखि रोपाइँ सुरु गर्ने परम्परा छ। बिउ राख्दा भेँडाबाख्राको धुलो, कालो कोइला, घर बढारेर निकालिएको कसिङ्गर मलको रूपमा प्रयोग गरिन्छ।

एक महिना दस दिनपछि बेर्ना रोप्न मिल्ने हुन्छ। असारदेखि साउनसम्म गोडमेल, भदौमा झारपात उखेल्नुपर्ने हुन्छ। किराले सतायो भने खरानी, तीतेपाती, गहुँत मिसाएर उपचार गरिन्छ। खेतमा पानी सुक्न दिँदैनन्। चैत १६ गतेको धानबाट बनेको चिउरा खाने चलन पनि रहिआएको छ। कार्तिकमा धान काटिन्छ, खेतमै दुई दिन सुकाएर घर ल्याइन्छ, चुटिन्छ, गोरुको सहायताले पराल बनाइन्छ, जसको नल हिउँदमा चौपाया खुवाउन उपयोग हुन्छ।

इतिहास र जनविश्वास

विश्वकै सबैभन्दा उच्च स्थानमा उत्पादन हुने जुम्ली मार्सीको उत्पत्तिको किम्बदन्ती रोचक छ।
वि.सं. १०९८ मा चन्दननाथ बाबाले लाछु ज्युलोमा पहिलो पटक बीउ राखेको मानिन्छ। परीक्षण सफल भएपछि १११२ सालदेखि नियमित खेती सुरु भयो।

कतिपयले बाबा चन्दननाथ काश्मिरबाट कैलाश यात्रामा जाँदा धानको बीउ ल्याएर जुम्लामा रोपेपछि खेती विस्तार भएको बताउँछन्।
तत्कालीन कल्याल ठकुरी बलिराजाले उनलाई खलंगा बजार नजिकै कुटी बनाइदिएर बसोबास गराइदिएका थिए। त्यहींबाट सुरु भएको बीउ लाछुमा उम्रियो, सफल भयो, विस्तार हुँदै मुगु, डोल्पा र अन्य जिल्लामा फैलियो।

मार्सी धान माइनस ४ डिग्री सेल्सियस तापक्रममा पनि उत्पादन हुनसक्ने क्षमतायुक्त ज्यापोनिका प्रजातिको रैथाने धान हो। यसको विशेषता, स्वाद, पाचन प्रणालीका लागि फाइदाजनक हुनु, र चामलको सौन्दर्यका कारण यसको माग बढिरहेको छ।

आर्थिक सम्भावना र चुनौती

यस्तो ऐतिहासिक, सांस्कृतिक र पोषणयुक्त धानको माग उच्च भए पनि उत्पादन पर्याप्त छैन। बजारमा एक पाथी (२ केजी) धानको मूल्य रु. १४० पर्छ, जुन उत्पादन गरिरहेका किसानहरूका लागि आम्दानीको बलियो आधार बन्न सक्छ।

तर उत्पादन बढ्न नसक्नुको पछाडि राज्यको उदासीनता, जनशक्ति पलायन, र कृषि नीति नहुनु प्रमुख कारण हुन्। धेरैजसो युवा वैदेशिक रोजगारीमा गएका छन्, तर गाउँमै बसेर कृषि गरिरहेका किसानले आज लाखौँ कमाइरहेका छन्।

जुम्लाको पुरानो मान्यता अनुसार, चैत १२ गते (चैताबारुवा) को दिन घर नआउने मान्छेलाई ‘मरेको’ मान्ने चलन थियो। त्यो दिन जुम्ली बस्ती जीवनको अङ्ग थियो।

राज्य र नेतृत्वको दृष्टिकोण

राणाकालदेखि नै मार्सी चामल विशेष भोजका लागि काठमाण्डौ दरबार पुर्याउने गरिन्थ्यो। अहिले पनि तत्कालीन प्रधानमन्त्री प्रचण्ड र केपी ओलीले नेकपा एकता घोषणाको दिन व्यापारी दुर्गा प्रसाईको घरमा मार्सी चामल खाएको प्रसंग स्मरणीय छ।

तर यस्ता परम्परा र धरोहरलाई संरक्षण गर्ने नाममा राज्यले ठोस प्रयास गरेको पाइँदैन।
नेताहरू भाषणमा मात्र कर्णालीको नाम लिन्छन्, वास्तविकता भने बजेट, स्रोत व्यवस्थापन, व्यवसायीकरणमा पुग्न सकेको छैन।

आज पनि कर्णालीलाई भोकमरीको पर्याय बनाउने प्रवृत्ति जीवितै छ।
तर साँचो कुरा के हो भने—कर्णाली आत्मनिर्भर छ, संसाधन, परिश्रम र सम्भावनाले भरिएको छ।

हामीलाई भोकमरी होइन, साथ र सही नीति चाहिएको हो।
मेरो कर्णाली—आत्मनिर्भर छ, सम्भावनाले भरिएको छ। भोकमरी होइन, यो भविष्यको मेरुदण्ड हो।

साताकाे चर्चित
सम्बन्धित