बाँके
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये पाँच पालिकामा दमकलको सुविधा छैन। यस्तो अवस्थामा जिल्लामा रहेका सीमित दमकलहरूलाई पूर्ण तयारीसहित चौबीसै घण्टा खटिन सक्ने अवस्थामा राख्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार हाल नेपालगञ्ज उपमहानगरपालिकामा तीनवटा, कोहलपुर नगरपालिकामा एकवटा र नरैनापुर गाउँपालिकामा एकवटा दमकल मात्र छन्। यसबाहेक नेपालगञ्ज विमानस्थलमा दुईवटा र नेपाल आयल निगम, राँझामा एउटा दमकल कार्यरत छन्, जसले जिल्लाभित्रका साथै आसपासका क्षेत्रमा पनि सेवा दिइरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको हालैको बैठकले सबै दमकललाई तत्काल परिचालन गर्न सकिने अवस्थामा राख्न आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ। दमकलका चालक, इन्धन, पानी र अन्य आवश्यक सामग्रीको सुनिश्चितता गर्न आठै स्थानीय तहलाई अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले दमकलसम्बन्धी जनशक्तिलाई आगलागी नियन्त्रण तालिम दिने व्यवस्था गर्नसमेत निर्णय गरेको छ। तालिम सञ्चालनमा प्राविधिक सहयोगका लागि डिएलएसए (DLSA) मार्फत सहजीकरण गरिनेछ।
गर्मीको मौसम सुरु भएसँगै आगलागी तथा डढेलोका घटनामा वृद्धि हुने सम्भावना रहेकाले त्यसको रोकथाम र न्यूनीकरणका लागि आवश्यक सतर्कता र पूर्वतयारीका उपायहरू अवलम्बन गरिने बैठकले जनाएको छ।