प्री-मनसुनसँगै चट्याङको जोखिम बढ्दै, मृत्यु र घाइतेको संख्या उकालो लाग्दै
प्री-मनसुनसँगै चट्याङको जोखिम बढ्दै, मृत्यु र घाइतेको संख्या उकालो लाग्दै
    • बेल संचार

    • ३१ चैत्र २०८१, आईतवार

काठमाडौँ, 

देशभर प्री-मनसुन सक्रिय भएसँगै चट्याङ लागेर ज्यान गुमाउने घटनामा वृद्धि भएको छ। चैत २७ गतेयता मात्रै चट्याङले आठ जनाको ज्यान लिइसकेको छ भने पछिल्ला तीन दिनमा मात्र २८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार चालू आर्थिक वर्षको वैशाखदेखि चैत २८ गतेसम्म चट्याङ लागेर ७८ जनाको मृत्यु भएको छ। त्यस्तै, ३०९ जना घाइते भएका छन् भने ५५६ घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार चट्याङका कारण हालसम्म करीब एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भइसकेको छ।

जनजीवनमा देखिएको जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले चट्याङसम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिएको छ। प्रवक्ता केसीका अनुसार सामाजिक सञ्जालजस्तै फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम लगायतका माध्यमबाट चट्याङसम्बन्धी सावधानी अपनाउन आग्रह गरिँदै आएको छ। साथै, सञ्चारमाध्यममार्फत पनि नियमित रूपमा जानकारी प्रवाह गरिँदै आएको छ।

यस्तै, पूर्वसूचनाको प्रभावकारिता बढाउन ‘सतर्क’ नामक कार्यव्रmम सुरु गरिएको प्राधिकरणले जनाएको छ, जसले बदलिँदो मौसमसँगै चट्याङको पूर्व जानकारी उपलब्ध गराउनेछ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री-मनसुनको समयमा वायुमण्डलीय उतारचढावका कारण चट्याङ पर्ने सम्भावना बढ्ने गर्दछ। त्यसैले यस्ता अवस्थामा घरमै बस्ने, बाहिर यात्रा नगर्ने, खेतबारीका काम टार्ने र सुरक्षाका उपायहरू अपनाउनुपर्ने सुझाव दिनुभएको छ।

चट्याङको समयमा खुला स्थानमा भएमा घुँडा टेकेर बस्ने, हातले टाउको छोप्ने र बिजुलीको पोल तथा रुखमुनी नबस्ने सल्लाह दिइएको छ। घरभित्र पनि बिजुलीका उपकरण नचलाउने, मोबाइल, टेलिभिजन, इन्टरनेट जस्ता विद्युतीय माध्यम बन्द गर्ने, ढोका तथा झ्यालमा उभिएर बाहिर नहेर्ने सुझाव मौसमविद्हरूले दिएका छन्।

प्री-मनसुन कालमा नेपालसहित भारत, बङ्गलादेश र भुटानमा पनि चट्याङ लाग्ने घटना धेरै हुने गर्छन्। पछिल्ला दिनहरूमा भारतमा मात्रै चट्याङ लागेर ६० जनाले ज्यान गुमाएका छन्।

साताकाे चर्चित
सम्बन्धित