स्थानीय अवरोधले रोकियो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण
स्थानीय अवरोधले रोकियो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण
    • बेल संचार

    • ३१ चैत्र २०८१, आईतवार

तस्वीर: वीर बहादुर राना, बेल संचार

काठमाडौँ,

अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य एक महिनादेखि पूर्ण रूपमा रोकिएको छ। चैत ३ गतेदेखि स्थानीय समुदायले विभिन्न माग राख्दै काममा अवरोध गरेपछि निर्माण अगाडि बढ्न सकेको छैन। आयोजनाले कात्तिकदेखि सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो।

आयोजनाका प्रमुख सञ्जय पन्थीका अनुसार स्थानीयले आयोजनासँग प्रत्यक्ष सम्बन्ध नराख्ने मागहरूमार्फत बारम्बार काम रोकेको उल्लेख गर्नुभयो। हाल पूर्वी तथा पश्चिमी दुबै पोर्टलको काम ठप्प भएको छ। उहाँका अनुसार यो परियोजनाको सुरूवातदेखि हालसम्म स्थानीयहरू १२ पटकभन्दा बढी अवरोध गरिसकेका छन्।

पन्थीले बताए अनुसार, पहिले स्थानीयसँग भएको सम्झौता अनुसार क्षतिपूर्तिको प्रक्रिया अघि बढिसकेको छ र केहीले क्षतिपूर्ति प्राप्त पनि गरिसकेका छन्। विस्फोटका कारण क्षति भएको भनिएका सातवटा घरको मूल्याङ्कन भई नयाँ घरका लागि क्षतिपूर्ति दिन थालिएको छ।

तर, हाल स्थानीयले सुरुङ क्षेत्रको खानेपानी व्यवस्था निःशुल्क गर्नुपर्ने, दीर्घकालीन सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने, जग्गाको उचित मुआब्जा दिनुपर्ने र सुरुङ प्रभावितलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने मागसहित निर्माण रोकेका छन्।

यस अवरोधका कारण सुरुङमार्गको भुइँ ढलान, पहुँच मार्ग निर्माण, फ्लाइओभर, वालिङ जस्ता महत्वपूर्ण संरचनाहरूको काम ठप्प छन्। पन्थी भन्छन्, “हामीले स्थानीयसँग संवाद गरेर काम अगाडि बढाउन प्रयास गर्‍यौं, तर सफल हुन सकेनौं। अब यस विषयको समाधान माथिल्लो तहबाट मात्र सम्भव देखिन्छ।”

निर्माण स्थगनका कारण परियोजना सञ्चालन गरिरहेको जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरिरहेको छ। हाल आयोजनामा १५ जना जापानी प्राविधिकसहित करिब ३०० जना नेपाली कामदार संलग्न छन्।

परियोजनाका प्रवक्ता रमेश कोइरालाका अनुसार सुरुङमार्गमा अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको छ। सुरुङभित्र अक्सिजन, प्रकाश, वायुप्रवाह (भेन्टिलेसन), टेलिफोन जडान र जेट पङ्खा जस्ता उपकरणहरू स्थापना भइरहेको थियो।

यो आयोजनाअन्तर्गत तीनवटा अन्डरपास, चारवटा कल्भर्ट, तीनवटा पुल, एक ओभरपाससहित कुल १२ वटा संरचनाहरू निर्माणको चरणमा छन्। सुरुङमार्गको चौडाइ साढे नौ मिटर रहने र बीचमा डेढ मिटरको विभाजक तथा दुवैतर्फ आधा-आधा मिटरको पेटी निर्माण गरिँदैछ।

बलम्बुबाट सुरुङको प्रवेशद्वारसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये हालसम्म एक किलोमिटर ९९५ मिटर कालोपत्र गरिसकिएको छ। सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्गको निर्माण पनि सम्पन्न भइसकेको छ।

साताकाे चर्चित
सम्बन्धित