कालीकोट।
कालीकोट जिल्लामा गएराति एक भीषण ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई महिला र दुई पुरुष रहेका छन्।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा मुगुको खत्याड गाउँपालिका–५ कवाका अन्दाजी २५ वर्षीय ट्रयाक्टर चालक चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका–४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही ठाउँका अन्दाजी ३२ वर्षीय सदु बुढा, र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षकी अम्बा शाही रहेका छन्।
चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
दुर्घटना गएराति करिब १२:१० बजे पलाँता गाउँपालिका–९ थिर्पुदेखि पलाँता–४ छलतर्फ खाद्यान्न र खुद्रा सामान बोकेर गइरहेको ट्रयाक्टर पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको हो। ट्रयाक्टरको नम्बर खुल्न बाँकी छ।
प्रहरीका अनुसार ट्रयाक्टरको ट्रली र इन्जिनको भाग सडकबाट ५०० मिटर तल अप्ठेरो भिरमा अड्किएको छ, जहाँ प्रहरी पुग्न नसकेको जनाइएको छ। मृतकहरूको शव भने सडकबाट करिब २०० मिटर तल फेला परेको थियो।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा ४ जनाको टोली र अस्थायी प्रहरी पोष्ट कहरदेवबाट प्रहरी वरिष्ठ हवल्दार गगन रावतको नेतृत्वमा ३ जनाको टोली राति नै घटनास्थल पुगेको थियो।
त्यस्तै, सदरमुकाम मान्मबाट राति १ बजे प्रहरी निरीक्षक गोविन्द प्रसाद चौधरीको नेतृत्वमा ७ जनाको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको र अहिले त्यहाँ पुग्दै गरेको प्रहरी स्रोतले जनाएको छ।