जुम्ला
हिमा गाउँपालिका–१ मा अवस्थित कालिका आधारभूत विद्यालय, देवारगाउँका १६५ जना विद्यार्थीहरूलाई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शैक्षिक सामग्री वितरण गरेको छ।
सोमबार सम्पन्न कार्यक्रममा कम्पनीका चिफ एजेन्सी म्यानेजर तथा प्रडक्ट एम्बेसडर गौरव कुमार शाहीले विद्यार्थीहरूलाई विद्यालय झोला, भित्ते घडी, भित्तेपात्रो, डटपेन, सिसाकलमलगायतका सामग्री हस्तान्तरण गर्नुभयो।
हिमा–१ बड्कीमा जन्मिएका शाहीले आफ्नो जन्मभूमिप्रति माया र समाजसेवी भावना प्रकट गर्दै व्यक्तिगत रूपमा विद्यालयमै पुगेर शैक्षिक सामग्री प्रदान गर्नुभएको हो। जन्मिएको र हुर्किएको माटोलाई नबिर्सी शाहीले मातृभूमिप्रतिको कर्तव्यबोध स्वरूप योगदान दिनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन शाहीले जानकारी दिनुभयो।
“कर्णालीको एक दुर्गम क्षेत्रमा रहेको विद्यालयलाई माया गर्दै सूर्यज्योति कम्पनीले विद्यार्थीलाई सामग्री प्रदान गर्नु गौरवको कुरा हो। विद्यालय परिवार, विद्यार्थी र अभिभावकहरू यस कार्यबाट निकै खुशी भएका छन्,” अध्यक्ष शाहीले भन्नुभयो।
कार्यक्रममा वडाध्यक्ष रतन शाहीले सूर्यज्योति इन्स्योरेन्स कम्पनीको प्रयासप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “स्थानीय सरकारबाट उपलब्ध हुन नसकेको सहयोग कम्पनीले पुर्याएको छ। आगामी दिनमा समेत समन्वय गर्दै अगाडि बढ्नेछौं।”
त्यस्तै, विद्यालयका प्रधानाध्यापक प्रेम हमालले कम्पनीको सहयोगप्रति विद्यालय परिवारको तर्फबाट आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
स्थानीय समुदाय, शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरू सबै सूर्यज्योति इन्स्योरेन्स कम्पनीको यो सहयोगबाट निकै उत्साहित भएका छन्।