काठमाडौं,
नेपाली सेयर बजार लगातार चौथो दिन घटेको छ। साताको पहिलो दिनदेखि निरन्तर घटिरहेको बजार बुधबार थप ३२.३८ अंकले घटेर नेप्से परिसूचक २६५५ अंकमा झरेको छ। बजारसँगै कारोबार रकम पनि घट्दै गएको देखिएको छ। अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ५७ करोडमा सीमित रह्यो।
बजार घट्दासँगै २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो। सेक्टरगत हिसाबले विकास बैंक समूह सबैभन्दा बढी २.०९ प्रतिशतले घटेको छ। बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार समूह ०.३० प्रतिशतले घटेका छन्। उत्पादन समूह भने १ अंकमुनि हरियो देखिएको छ।
उता, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। राधि विद्युत् ४.३३ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावर २.७० प्रतिशतले बढेका छन्। बुधबार धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल परेका छन्।
बजार घट्नुका तीन मुख्य कारण:
चार दिनदेखि बजार निरन्तर घट्नुका पछाडि तीन प्रमुख कारण देखिएका छन्:
बैंकहरूको कमजोर वित्तीय विवरण — आइतबार अधिकांश बैंकहरूले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अपेक्षाभन्दा कमजोर देखिएपछि लगानीकर्ता निराश भएका छन्।
विभिन्न पक्षको आन्दोलन — देशभित्र भइरहेका आन्दोलनहरूले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पारेको छ।
गभर्नर नियुक्ति प्रक्रिमा अन्योल — नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि प्रक्रिया अन्योलमा परेको छ, जसले बजारमा अस्थिरता ल्याएको छ।